काठमाडौं ५ असोज / राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।
बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का सांसद आसनबाट उठेर बैठक अवरुद्ध गरे पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूको अवरोधलाई बेवास्ता गर्दै बैठकको काम–कारबाही अघि बढाएका थिए । विनियोजन विधेयक, २०७८ स्वीकृत गरियोस् भन्दै अर्थमन्त्री शर्माले राखेको प्रस्तावलाई सत्तापक्षका सांसदहरूले समथर्न गरे भने प्रतिपक्षी दल एमालेका सांसदले उठेर विरोध मात्र जनाएका थिए ।
त्यसैले अध्यक्ष तिमिल्सिनाले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गरका हुन् । योसँगै राष्ट्रियसभा बैठक यही असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।