काठमाडौं ५ असोज / आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो।
आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ। दलहरुबीच सहमति भएमा सम्भवत आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।
यसमा छलफल गरिसकेपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउनेछ। यसपछि प्रतिनिधि सभाले सभामुखमार्फत विधेयक राष्ट्रपतिकहाँ पठाउँछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ। अनि मात्र सरकारले खर्च गर्न पाउनेछ।