दोलखा २ असोज/ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर १ सुस्पाक्षमावतीको बोसिम्पा र बुमाका भुकम्प पिडीतले ६ वर्ष पछि लालपुर्जा पाएका छन् । लालपुर्जा पाएका पछि सुस्पाक्षमावतीका भुकम्प पिडीत दंग परेका छन् । २०७२ सालको भुकम्प पछि आफु बस्दै आएको स्थान जोखीम भएको भन्दै सरकारले नजिकैको पानी पोखरीमा घर निर्माण अनुरोध गरेको थियो ।सोहि अनुसार पानी पोखरीमा जेनतेन घर त बनाइयो तर पुर्जा नहुँदा कतिबेला सरकारले हटाउने हो भन्ने पिरलो थियो अब ढुक्क भइयो’, आफ्नो फोटो टाँसेको जग्गाधनी पुर्जा हेर्दै मीनमाया थामीले भनिन्। थामी सहित भुकम्पपछि बोसिम्पा बुमालाई उच्च जोखिमको क्षेत्र भनिएका ५७ घर धुरीका भूकम्प पीडित नजिकै पानीपोखरीमा सार्वजनीक जग्गामा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने पुर्ननिर्माण प्राधिकरणको निणर्य अनुसार ५७ वटा घर निर्माण मध्ये ५० घर निर्माण भएपछि उनीहरुलाई लालपुर्जा वितरण गरिएको भवन कार्यालय दोलखाका प्रमुख अर्जुन तमाङले जानकारी दिएका छन् ।
भूकम्प पिडीतलाई शनिवार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले एक कार्यक्रमको आयोजना गरी लालपुर्जा वितरण गरेका छन् ।
पानीपोखरीमा एकिकृत बस्ती निर्माण गरी बस्दै आएका भूकम्प पिडीतलाई करिब ६ आना जग्गाको लालपुर्जा वितरण गरिएको हो। सबैको लालपुर्जा तयार गर्न समय लाग्ने भएकाले यो महिना भित्र सबै पिडीतलाई जालपुर्जा वितरण गरि सक्ने मालपोत कार्यालय दोलखाका निमित्त कार्यालय प्रमुख मुरारी दुलालले बताएका छन् ।