रुकुम पूर्व, १ असोज / देशभरीका ३९ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य सञ्चालमा आएपनि रुकुम पूर्वमा भने सञ्चालन हुन सकेको छैन । जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज देखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालमा ल्याएको भएपनि रुकुम पूर्वमा सञ्चालन हुन सकेको छैन ।
जिल्लामा अहिलेसम्म शाखा स्थापना हुन सकेको छैन । गत भदौ २ गते खाद्य व्यवस्था समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा शाखा स्थापना गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । रुकुम पूर्वमा शाखा कार्यालय स्थापना नभएकै कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताएका छन । कार्यालय, भौतिक पूर्वाधार र कर्मचारी अभावका कारण सहुलियत पसल सञ्चालन नभएको उहाँको भनाई रहेछ ।
यसअघि बसेको बैठकले शाखा स्थापना गर्न केन्द्रिय कार्यालयलाई अनुरोध गरेको भएपनि अझै एक दुई महिना लाग्न सक्ने निमित्त प्रमख खड्काले जनाएका छन ।