रुकुम पूर्व, २९ भदौ / जिल्ला समन्वय समिति रुकुम–पूर्वका प्रमुख गजेन्द्र बहादुर ओलीले जिल्लामा संचालित गैर सरकारी संस्थाहरु शहर, बजार केन्द्रित भएको बताएका छन । जिल्लामा क्रियाशिल रहेका गैर सरकारी संस्थाहरु शहर, बजार भन्दा दुर्गम तथा पिछडिएको क्षेत्रमा केन्द्रित भएर आफनो कार्यक्रम संचालन गर्न समेत ओलीले अग्रह गरेका छन । ओलीले शहर बजारको जनता भन्दा ग्रामिण तथा दुर्गम क्षेत्र जनतालाई लक्षित गरेर आफनो आगामी कार्यक्रमहरु संचालनमा ल्याउन सुझाएका छन ।
मंगलबार युनाइटेड मिसन टु नेपाल –यूएमएन, रुकुम–पूर्व कलष्टरले आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समिति ठगन तथा वार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख ओलीले उक्त कुरा बताएका हुन । गैर सरकारी संस्थाहरुसँगै सरकारी कार्यालयहरुले पनि स्थानीय तहहरुसँग छलफल तथा समन्वय गरी ग्रामिण तथा दुर्गम क्षेत्रलाई लक्षित गरि कार्यक्रम गरेमा प्रभावकारी हुने र लाभग्राही पनि सन्तुष्ट हुने वातावरण सृजना हुने समन्वय प्रमुख ओलीले बताएका छन ।
यस्तै पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीमगरले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले फरक व्यवहार देखाएको बताएका छन । सेवा दिने क्रममा सिस्ने र भूमे गाउँपालिकालाई हेर्ने दृष्टिकोण र पुथाउत्तरगंगा गाउँपालिकालाई हेर्ने दृष्टिकोण फरक हुने गरेको भन्दै गुनासोे गरेका छन । पुथाउत्तरगंगा अन्य गाउँपालिकाको तुलनामा भौगोलिक हिसावले विकट, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, राजनीति, आर्थिक लगाएत सबै क्षेत्रमा पछि परेको छ । यसको विकास र कमी कमजोरीका पाटालाई सुधार्दै जानुको सट्टा पुथालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नै गर्न नसेको अध्यक्ष घर्तीले बताएका छन । घर्ति मगरले आगामी दिनमा गैरसरकारी संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरुमा पुथाउत्तरगंगा गाउँपालिकालाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन । त्यस्तै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले गैरसरकारी संस्था सरकारको सहयोगी हात भएकोले स्थानीय तहले गर्ने हरेक प्रकारका क्रियाकलापहरुलाई सफल बनाउनमा गैर सरकारी संस्थाहरुको ठुलो भूिमका रहदै आएको बताएका छन ।