रुकुम पूर्व, २७ भदौ / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्वर १ मैकोटमा एक महिना देखि विद्युत सेवा अवरुद्ध भएको छ । पावर हाउस भित्र विभिन्न विद्युतीय उपकरण बिग्रेपछि मैकोटमा एक महिना देखि विद्युत सेवा अवरुद्ध भएको हो । गत साउन महिना देखि मैकोट स्थित ११ किलोवाट क्षमताको रानीपातल लघु जलविद्युत आयोजनामा विविध समस्या देखा पर्दा अवरुद्ध भएको आयोजनाको मर्मत संभार हुन नसक्दा मेकोटबासी अन्कारमा बस्न बाध्य बनेका छन् ।
जलविद्युत आयोजना अवरुद्ध भएपछि साँझ खाना पकाउन, मोबाइल चार्ज गर्न र विद्यार्थी बालबालिकालाई घरमा अध्ययन गर्न गराउन सास्ती भइरहेको स्थानीय धनबहादुर पुन मगरले बताएका छन् । विद्युत उपभोक्ता समिति र वडा कार्यालयले विद्युत मर्मत संभारमा ध्यान नदिएकाले हालसम्म विद्युत सुचारु हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । विद्युत सेवा नहुँदा प्लसको जेनरेटरबाट एउटा मोबाइल चार्ज गरे बापत एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको पुनले बताए । मैकोटका अन्दाजी चार सय घरधुरीसँगै वडा कार्यालयले विद्युत नहुँदा सास्ती खेपिरहेका छन् ।
यता कार्यवाहक वडाध्यक्ष मग कामीले भने अबको एक हप्ता भित्रमा विद्युत सुचारु हुने जानकारी दिएका छन् । पावर हाउस भित्र अधिकांश विद्युतीय उपकरणलाई फेर्नु पर्ने भएकाले उपकरण खरिद गरी ल्याउनका लागि बजेटको अभावले विद्युत सुचारु गर्न ढिलाइ भएको कार्यवाहक वडाध्यक्ष कामीले बताएका छन् । गाउँको आन्तरिक कोषको एक लाख, ऋण लिएको २ लाख र गाउँपालिकाको २ लाख गरी पाँच लाख रुपैयाँले अबको दुई÷तीन दिनमै विद्युतीय उपकरण आइपुग्ने अध्यक्ष कामीले बताए ।