सल्यान, १९ भदौ । राप्रपाका पूर्व सांसद तथा सल्यान जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले देशलाई सहि दिशामा लैजान राजतन्त्र चाहिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यान बाघचौरको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन । निकट भविष्यमा हुने स्थानिय तहको निर्वाचनलाई ध्यानमा राखी बाघचौर नगर समितिको आयोजनामा कोटबारामा शनिबार सम्पन्न भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा श्रेष्ठले संघियता नेपाली जनतालाई बोझ भएको र राजाहरुको कारण आज नेपाली भनेर विश्वमा गर्व गर्न पाएको समेत दाबी गरेका छन्। प्रमुख अतिथी समेत रहेका श्रेष्ठले राजा भएको बेला देश स्वाधिनता र स्वतन्त्र भएको तर अहिले देश बाहिरको अधिन र इशारामा चलेको आरोप समेत लगाएका छन् ।
सोही कार्यक्रममा अन्य पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका नव आगन्तुकहरुलाई स्वागत गर्दै हात धुने साबुन तथा मास्क समेत वितरण गरेका थिए। बालकन्या माविमा भएको सो कार्यक्रममा राप्रपाका ६० जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।