काठमाडौं, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको शनिबार बसेको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।
सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ । यस अघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो ।