सुर्खेत, १७ साउन / शनिबार सार्वजनिक विदाको दिनलाई सदुपयोग गर्दै कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाले सुर्खेतको पूर्वी भू-भाग सिम्तामा प्रदेश सरकारद्वारा निर्मित भौतिक संरचनाहरुको स्थलगल अनुगमन तथा निरिक्षण गरेका छन् । प्रदेश सरकारद्वारा निर्मित सिम्ता गाउँपालिकाको भवन, खानेपानी, सडक तथा पुल लगायतका भौतिक संरचनाहरुको साथै राकम, बजेडिचौर, काफलकोटमा सम्पन्न र निर्माणाधीन रहेका विभिन्न आयोजनाहरुको अनुगमन गरेका छन् ।
स्थलगत अनुगमन तथा निरीक्षणमा गएका मन्त्री थापाको टोलीलाई राकमका स्थानियबासीले स्वागत गरेका थिए । सोही क्रममा अनुगमन टोलीले भानु माध्यमिक विद्यालय, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, माध्यमिक विद्यालय देउली लापु, सिर्पा देउली काफलकोट सडक, जितेजुवा पाठोकाट्ना-काफलकोट सडकको स्थालगत अवस्था र अनुगमन समेत गरेका छन् ।
अनुगमनमा गएका मन्त्री थापाले बोल्ने क्रममा भावविह्वल हुदैँ सिम्ता सहकर्मी ऋषी शर्माको जन्म थलो भएको र उहाँले देखेका सपनाहरू साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोही क्रममा ऋषी शर्मा भौतिक रुपमा हामी माझ नभएपनि उहाँको लागि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि केही असल काम गरेर देखाउने विश्वास समेत दिलाएका छन् । एमालेका नेता ऋषि शर्मालाई २०५६ सालको प्रतिनिधी सभाको निर्वाचनको समयमा चुनाव लड्दा अज्ञात समुहले हत्या गरेको थियो ।