काठमाण्डौं, १३ साउन / "प्रहरी मेरो साथी" भन्ने शब्द सुन्दा लाग्छ प्रहरी साचैं हाम्रो दु:ख सुखको साथी हो, हाम्रो हरेक पीडामा मलमको रुपमा काम गर्नु हुनेछ भनेर तर "प्रहरी मेरो साथी" भन्ने शब्द नारामा मात्रै सिमित भएको छ । उक्त नारा सुन्दा जति आनन्द महसुश हुन्छ त्यति नै पीडा प्रहरीको व्यवहारले हुन्छ, हामीलाई अप्ठ्यारो पर्दा सबै भन्दा पहिले सम्झिने भनेकै नेपाल प्रहरीलाई नै हो तर त्यहि प्रहरी आफ्नो कुरा नै नसुनी उल्टै पिडितलाई हप्काउदाको पीडा उसलाई मात्रै थाहा हुन्छ जो पीडित छ ।
यस्तै काठमाण्डौंको सोल्टीदोबाटोमा प्रहरीले संचारकर्मीलाई दुर्व्यवहार गरेका छन् । बीच सडकमा ट्याक्सी पार्किङ्ग गरेका कारण झन्डै दुर्घटना हुनबाट जोगिएका संचारकर्मी र ट्याक्सी चालक बीच पार्किङ्गको विषयमा भएको विवादमा प्रहरीले कुरै नबुझी अपशब्द प्रयोग गर्दै संचारकर्मीहरू माथि दुर्व्यवहार गरेका छन्। मेरो हुलाकी डटकमकी संचालक अस्मिता गिरी तथा सम्पादक ओम किशोर चौधरीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक विजय श्रेष्ठ तथा नाम नखुलेका एक हवल्दारले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । पार्किङ्गको विषयमा भएको विवादमा ७/८ जनाको ट्याक्सी चालकहरुको समूहले संचारकर्मीद्वय माथि गरेको दुर्व्यवहार वारेमा प्रहरी कन्ट्रोल रुम १०० मा फोन गर्दा आएका प्रहरी सहायक निरीक्षक श्रेष्ठको टोलीले समेत संचारकर्मी माथि दुर्व्यवहार गरेका छन् । प्रहरी सहायक निरीक्षक श्रेष्ठले तल्लो स्तरको शब्द प्रयोग गर्दै चुप लाग्न भनेका थिए । मुख्य बाटो नै पुरै बन्द हुने गरी पार्किङ्ग गरेको ट्याक्सीलाई कारवाही गर्नुको साट्टो उल्टै उनीहरुलाई त्यहाँबाट उम्किन मद्दत गरेका थिए । त्यति मात्रै नभएर वादविवाद कै क्रममा त्यहाँ आइपुगेका सोही वडाका वडाध्यक्ष करुण बलामी मुकदर्शक भएर बसेका थिए । वडाअध्यक्ष बलामीलाई यस बारेमा जानकारी गराउदा कुनै ठुलो क्षति नभएकोले यसलाई ठुलो कुरा बनाउन आवश्यक नरहेको गैर जिम्मेवार प्रतिक्रिया दिदै त्यहाँबाट हिडेका थिए ।
यसरी प्रहरीबाट नै एउटा संचारकर्मी माथि यस्तो दुर्व्यवहार हुन्छ भने सर्वसाधारण जनताले प्रहरीबाट के अपेक्षा राख्ने ? यदी वास्तवमा नै "प्रहरी मेरो साथी" भन्ने नारालाई सार्थकता प्रदान गर्ने हो भने अझ पनि प्रहरीले आफ्नो बोली र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक देखिन्छ ।