काठमाडौं, २० असार / निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते देखि २१ गतेसम्म उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ । त्यसै गरी दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ देखि १ गतेसम्म मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । सोही दिन नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मङ्सिर ३ गते मतदान हुने आयोगको कार्यतालिका छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने मध्यावधी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । केपी ओली नेतृत्वको सरकारले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।