रौतहट, १९ असार / केहीदिन देखि परेको अबिरल वर्षाका कारण रौतहटका बिभिन्न स्थान डुवानमा परेका छन् ! अविरल वर्षाले रौतहटको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन् । नदी र खोलाको पानीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ ।
वर्षाका कारण गुजरा नगरपालिकाका वडा नम्वर-३ जंगलसहिया पशुपति टोलमा शिव नारायण महराको घर भत्केको छ भने रामा ठाकुर, अकलु महरा, बिगु माझी, देवराज माझी, जवाहर चौधरी लगायत एक दर्जन भन्दा बढीको घरमा बाढीको पानी पसेको स्थानीय बासिन्दा बिशुन दयाल पासवानले बताएका छन् । सामुदायिक वन क्षेत्र भित्रका पानी निकासका लागि भत्काइएका नहरको ड्यामको निर्माण कार्य समयमा सम्पन्न नहुदाँ वन क्षेत्र र नहरको पानी बस्तिमा पसेको स्थानीय बासिन्दाको भनाई रहेकोको छ ।
वन क्षेत्र र नहरको पानी बस्तीमा पस्दा घरमा भएको अन्नपात भिजेर नष्ट भएको रामा ठाकुरले मेरो हुलाकी डटकमलाई बताएका छन्। उनका अनुसार पानीले २ दिन देखि राम्रोसँग सुत्न सकेको छैन त्यति मात्र नभएर घरमा चुलो समेत बल्न नसकेको उनको भनाई रहेको छ ।
त्यसै गरी वर्षाकै कारण गुजरा नगरपालिकाको सिम्री,जंगलसहिया, बलुवा तथा फतुवा विजयपुर नगरपालिकाको बुनियाद, लक्ष्मीनिया, दुधिअवा, बुटवा लगायतका स्थानमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु बिकले जानकारी दिएका छन् ।