काठमाडौं, १५ असार / निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुई जना जनप्रतिनिधिलाई सर्वोच्च अदालतले कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका रौतहट मौलापुर र कटहरिया नगरपालिका नगरप्रमुख रिना कुमारी साह र सियाराम कुश्वाहालाई न्यायाधीश कुमार चुडालको इजलासले कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा रौतहटका मौलपुर र कटहरियाका नगरप्रमुख साह र कुश्वाह सहित ७ जना गरी विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।